निर्वाचन आयोगमा हालसम्म तीन राजनीतिक दलले मात्र चुनावलक्षित घोषणापत्र बुझाएका छन्। आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी र समावेशी समाजवादी पार्टीले आयोगमा घोषणापत्र पेस गरेका छन्। आयोगले सबै दललाई फागुन ३ गतेभित्र चुनावी घोषणापत्र बुझाउन निर्देशन दिएको छ भने सोही समयसीमाभित्र प्रत्येक उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालयमा घोषणापत्र पेस गर्न भनिएको छ। निर्वाचन आचारसंहिताअनुसार घोषणापत्र बुझाउनु अनिवार्य व्यवस्था हो।
त्यसैगरी, निर्वाचन प्रयोजनका लागि हालसम्म चार दलले मात्र बैंक खाता खोलेका छन्। नेपाली कांग्रेस, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा लगायत दलले खाता खोलेका हुन्। आयोगका अनुसार ४५४ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन्, जबकि प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्ष निर्वाचनमा ६४ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित ३ हजार ४०६ जना उम्मेदवार मैदानमा रहेका छन्। आयोगले उम्मेदवारहरूलाई घोषणापत्र सार्वजनिक गरी एक प्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको छ।










