काठमाडौंस्थित पाकिस्तान दूतावासले आज, १० मे २०२६ मा, “मार्का-ए-हक दिवस” गम्भीरता र राष्ट्रिय गौरवका साथ मनाएको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले दूतावासका अधिकारीहरू, नेपालीस्थित पाकिस्तानी समुदायका सदस्यहरू, उनीहरूका परिवार तथा पाकिस्तानका शुभेच्छुकहरूको उपस्थितिमा आयोजित गरिमामय समारोहमा राष्ट्रिय झण्डा फहराउनुभयो । यस अवसरमा पाकिस्तानका नेतृत्व तहका सन्देशहरू पनि वाचन गरिएको थियो ।
आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले “मार्का-ए-हक” ले पाकिस्तानको प्रतिरोध क्षमता केवल नारा मात्र नभई व्यावसायिक दक्षता, तीनवटै सुरक्षा निकायबीचको समन्वय तथा आक्रमणविरुद्ध नझुक्ने जनताको दृढ संकल्पमा आधारित रहेको विश्वलाई देखाएको बताउनुभयो । उहाँले राष्ट्रका लागि जीवन बलिदान गर्ने प्रत्येक सहिदप्रति सम्मान व्यक्त गर्दै वर्दीधारी पुरुष तथा महिलालाई सलाम गर्नुभयो ।
पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले आफ्नो सन्देशमा “योम-ए-मार्का-ए-हक” अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने दिन भएको उल्लेख गर्दै विपरीत परिस्थितिमा पाकिस्तानले देखाएको वीरतापूर्ण अडान तथा शत्रुमाथि हासिल गरेको निर्णायक विजयको स्मरण गरिएको बताउनुभयो । उहाँले देशको रक्षा गर्न दृढतापूर्वक उभिएका सहिद, तिनका परिवार तथा गाजीहरूलाई राष्ट्रले सम्मान गर्ने उल्लेख गर्नुभयो । भूमि, समुद्र, आकाश तथा साइबर क्षेत्रमा पाकिस्तानका सुरक्षाकर्मीले दिएको समन्वित र प्रभावकारी जवाफले पाकिस्तानलाई अजेय राष्ट्रका रूपमा स्थापित गरेको उहाँले बताउनुभयो ।
उपप्रधान तथा परराष्ट्रमन्त्री सेनेटर मोहम्मद इशाक डारले आफ्नो सन्देशमा दक्षिण एशियामा दिगो शान्ति स्थापना गर्न जम्मु–कश्मीरलगायतका मूल मुद्दाहरूको समाधान आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्ताव तथा कश्मीरी जनताको चाहनाअनुसार न्यायपूर्ण समाधान हुनुपर्ने बताउँदै पाकिस्तान क्षेत्रीय शान्ति र स्थायित्वप्रति प्रतिबद्ध रहेको धारणा राख्नुभयो । पाकिस्तान संवाद, कूटनीति तथा न्याय र पारस्परिक सम्मानका आधारमा विवाद समाधानमा विश्वास गर्ने उहाँले बताउनुभयो ।
राजदूत हाश्मीले आफ्नो मन्तव्यमा “मार्का-ए-हक” मार्फत पाकिस्तानको सार्वभौमसत्ताको रक्षा गर्न समयमै कदम चालेका पाकिस्तानका सशस्त्र बलको साहस, बलिदान र अटल प्रतिबद्धताको प्रशंसा गर्नुभयो । साथै, देशको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको रक्षा गर्न एकताबद्ध र दृढ बनेका पाकिस्तानी जनताको पनि उहाँले सराहना गर्नुभयो । उहाँले “मार्का-ए-हक” पाकिस्तानको दृढ संकल्प, राष्ट्रिय एकता तथा अटल प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो । सार्वभौमसत्ताको रक्षा गर्ने सन्दर्भमा देशको आकारले शक्ति र संकल्प निर्धारण नगर्ने उहाँले उल्लेख गर्नुभयो ।












