नेपाल राष्ट्र बैंकले बजारबाट थप ४५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। बैंकिङ प्रणालीमा नगद प्रवाह बढ्दै गएपछि तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले यस्तो कदम चालेको हो।
यसअघि बैशाख ३० गते ४० अर्ब रुपैयाँ बजारबाट निक्षेप संकलन गरेको बैंकले फेरि ४२ दिनका लागि ४५ अर्ब रुपैयाँ उठाउन लागेको हो। निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल रकमसम्म बोलकबोल गर्न सक्नेछन्। आवेदन शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत दिन सकिनेछ।
राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार बैंकिङ प्रणालीमा कुल ७९ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेको छ, जसमा वाणिज्य बैंकहरूमा ७१ खर्ब ७६ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ।










