काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा १२ अर्ब ४ करोड ३३ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो पछिल्ला ६ वर्षकै सबैभन्दा बढी राजस्व संकलन हो। आर्थिक वर्ष २०७७/७८ मा १० अर्ब ६४ करोड रुपैयाँ रहेको कुल राजस्व पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै आएको देखिएको छ।
राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार गत आर्थिक वर्ष १५ अर्ब ११ करोड ४३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा महानगरले करिब ७९ प्रतिशत लक्ष्य पूरा गरेको छ। उनका अनुसार जनप्रतिनिधि र कर्मचारीबीचको समन्वित प्रयासले राजस्व संकलनमा सकारात्मक परिणाम आएको हो।
महानगरको सबैभन्दा ठूलो आन्तरिक आयस्रोत घरबहाल कर बनेको छ। छ वर्षअघि १ अर्ब ६१ करोड रुपैयाँ रहेको घरबहाल कर गत आर्थिक वर्ष बढेर ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। सम्पत्ति कर ७५ करोड ३८ लाख रुपैयाँबाट १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ भने व्यवसाय कर ३५ करोड ५३ लाख रुपैयाँबाट बढेर ६९ करोड १ लाख रुपैयाँ पुगेको छ। सिफारिस दस्तुरबाट हुने आम्दानी पनि दोब्बर बढेर ९ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
यता, घरजग्गा रजिस्ट्रेसन दस्तुरमा भने महानगरले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। १ अर्ब ६४ करोड रुपैयाँ लक्ष्य राखिएकोमा २ अर्ब ९ करोड रुपैयाँ उठेको छ। घरजग्गा कारोबार बढेकाले यस शीर्षकमा अपेक्षाभन्दा बढी आम्दानी भएको महानगरको विश्लेषण छ।
तर नक्सापास दस्तुर र सवारी साधन करबाट हुने आम्दानी भने घटेको छ। भवन अभिलेखीकरण अभियान सकिएपछि नक्सापास दस्तुर १ अर्ब १ करोड रुपैयाँबाट घटेर ३९ करोड ३१ लाख रुपैयाँमा झरेको छ। प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर पनि ४३ करोड १८ लाख रुपैयाँबाट घटेर २० करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ।
संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानमा खासै परिवर्तन नभए पनि सशर्त चालु अनुदान लक्ष्यभन्दा बढी प्राप्त भएको छ। यद्यपि सशर्त पुँजीगत अनुदानतर्फ भने लक्ष्य राखिए पनि कुनै रकम प्राप्त हुन सकेन। महानगरले आगामी वर्ष राजस्वको दायरा विस्तार गर्दै लक्ष्य हासिल गर्ने रणनीतिमा जोड दिएको जनाएको छ।










