सरकारले व्यावसायिक प्रयोजनका लागि ठूलो क्षमताको एलपी ग्यास सिलिन्डर प्रयोगमा ल्याउने तयारी थालेको छ। हाल घरायसीदेखि होटल तथा रेस्टुरेन्टसम्म १४.२ केजीकै सिलिन्डर समान मूल्यमा प्रयोग हुँदै आएपछि सरकारले छुट्टै व्यवस्था गर्न अध्ययन समिति गठन गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिले व्यावसायिक क्षेत्रमा ४५० केजी क्षमताको सिलिन्डर प्रयोग गर्न सकिने विषयमा अध्ययन गरिरहेको छ। समितिले १५ दिनभित्र प्रतिवेदन तयार गर्ने जनाएको छ। नेपाल आयल निगमका अनुसार एलपी ग्यासमा हाल प्रतिसिलिन्डर ४११ रुपैयाँ घाटा रहेको छ भने घरायसी र व्यावसायिक क्षेत्रमा समान मूल्य कायम हुँदा वार्षिक करिब ७ देखि ८ अर्ब रुपैयाँ अनुदानमा खर्च भइरहेको छ।

कुल एलपी ग्यास खपतको करिब ७० प्रतिशत घरायसी र ३० प्रतिशत व्यावसायिक क्षेत्रमा प्रयोग हुने गरेको निगमको तथ्यांक छ। व्यावसायिक क्षेत्रका लागि छुट्टै तौल र मूल्य निर्धारण गर्न सके घरायसी उपभोक्ताका लागि दिइने अनुदानलाई लक्षित गर्न सहज हुने सरकारको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस !