गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा सञ्चालित बालिका शिक्षा कार्यक्रमको प्रगति, उपलब्धि तथा आगामी कार्यदिशाबारे समीक्षा गर्न सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ।

विद्यालयको आयोजना तथा Room to ReadUN Nepal को सहकार्यमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि, बाल क्लबका प्रतिनिधि तथा कार्यक्रमका सहभागी बालिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो।विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष कोपिला कुमाल, बालिका शिक्षा कार्यक्रमकी फोकल शिक्षक कमला पन्थलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन डा. रविन्द्र कंडेलले गरेका थिए।समीक्षा प्रतिवेदनअनुसार सन् २०२३ देखि विद्यालयमा सञ्चालन हुँदै आएको बालिका शिक्षा कार्यक्रमले बालिकाहरूको विद्यालय उपस्थितिमा सुधार, सिकाइ उपलब्धि अभिवृद्धि, नेतृत्व विकास, जीवनोपयोगी सीपको विकास तथा लैङ्गिक समानताको प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ।UN Nepal गोरखाका कार्यक्रम अधिकृत उमेश बिश्वकर्माले कार्यक्रममार्फत हासिल भएका उपलब्धि र तथ्याङ्कहरूको विश्लेषणसहित प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा सहभागी छात्रा दिपिका कुमाल र कृति कुमालले कार्यक्रमले आत्मविश्वास वृद्धि, सार्वजनिक रूपमा बोल्न सक्ने क्षमता विकास तथा अध्ययनप्रति थप प्रेरणा मिलेको अनुभव सुनाएका थिए। उनीहरूको अनुभवले उपस्थित अभिभावक तथा सरोकारवालाहरूलाई भावुकसमेत बनाएको थियो।खुला छलफलका क्रममा सहभागीहरूले बालिका शिक्षालाई अझ प्रभावकारी बनाउन विद्यालय, अभिभावक, समुदाय तथा स्थानीय सरकारबीचको सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, किशोरीहरूका लागि नेतृत्व विकास, जीवनोपयोगी सीप र सुरक्षित सिकाइ वातावरणलाई आगामी वर्षहरूमा अझ सशक्त बनाउन सुझाव प्रस्तुत गरिएको थियो।

कार्यक्रमका अतिथिहरूले बालिका शिक्षामा गरिएको लगानी समाजको भविष्य निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले ग्रामीण क्षेत्रका बालिकाहरूको शिक्षा र अवसरमा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।प्रधानाध्यापक कुमार प्रसाद ढकालले विद्यालयमा सञ्चालन भइरहेको कार्यक्रमले बालिकाहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा उल्लेखनीय योगदान पुर्‍याएको बताउँदै आगामी दिनमा पनि यसलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।बैठकले कार्यक्रमको प्रभावकारिताको समीक्षा गर्दै आगामी वर्षका लागि सुधारका क्षेत्रहरू पहिचान गर्नुका साथै बालिका शिक्षाको दिगोपनाका लागि साझा प्रतिबद्धता निर्माण गर्ने निष्कर्ष निकालेको छ।विद्यालय परिवारले कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवाला, अभिभावक, शिक्षक, विद्यार्थी तथा सहयोगी संस्था Room to Read र UN Nepal प्रति आभार व्यक्त गर्दै बालिका शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा पनि निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरेको जनाएको छ।

“शिक्षित बालिका, सक्षम समाजको आधार” भन्ने सन्देशलाई आत्मसात् गर्दै कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !