जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मङ्गलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। भूकम्पका कारण सपिङ मल, औद्योगिक प्रतिष्ठान, सडक, पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुगेको छ। हजारौं घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले बताएका छन्।

स्थानीय समयअनुसार मङ्गलबार अपराह्न ४ः२७ बजे आएको भूकम्प अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ६.८ म्याग्निच्युडको र १० किलोमिटर गहिराइमा केन्द्रित थियो। यद्यपि जापानी अधिकारीहरूले यसको तीव्रता ७.१ म्याग्निच्युड रहेको बताएका छन्। मृत्यु भएका सबै व्यक्तिको मृत्यु प्रत्यक्ष रूपमा भूकम्पकै कारण भएको हो वा होइन भन्ने विषयमा अझै पुष्टि भइरहेको छ। प्रारम्भिक विवरणअनुसार सात जना गम्भीर घाइते भएका छन् भने अन्य घाइतेहरूको उपचार भइरहेको छ।सबैभन्दा ठूलो क्षति कासिमा सहरस्थित एउटा सपिङ मलमा भएको छ। भूकम्पपछि ग्यास विस्फोट हुँदा भवनको छाना र पर्खाल भत्किएको थियो। मल सञ्चालक कम्पनीका अनुसार ग्राहक र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएपछि विस्फोट भएको हो। मलबाट आठ जनाको उद्धार गरिएको छ, जसमध्ये पाँच जना घाइते भएका छन्। भवनभित्र अझै केही कर्मचारी फसेको पुष्टि भए पनि सुरक्षित प्रवेश मार्ग बनाउन नसकिएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।यात्सुशिरोस्थित निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा पनि ठूलो क्षति पुगेको छ। कारखानाको धुवाँ निकाल्ने संरचनाको एक भाग भत्किएको छ भने त्यहाँ कार्यरत नौ जनाको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन। भूकम्पका कारण आगलागी, भवन भत्किने, सडक चर्किने, पुलमा क्षति पुग्ने तथा मालवाहक रेल पल्टिने घटनासमेत भएका छन्। एउटा पैदल यात्रु पुलको एक भाग नदीमा खसेको अधिकारीहरूले बताएका छन्।

कुमामोतो विमानस्थल केही घण्टापछि पुनः सञ्चालनमा आएको छ भने सिङ्कानसेन उच्चगतिको रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको थियो। धेरै सडक अझै बन्द छन्। बुधबार बिहानसम्म कुमामोतो क्षेत्रमा ३६ हजार ८८० घर तथा अन्य संरचनामा विद्युत् आपूर्ति अवरुद्ध रहेको छ। जापानी रक्षा मन्त्रालयले उद्धार तथा विपद् व्यवस्थापनका लागि तीन हजार ६०० सैनिक तथा क्षतिको हवाई मूल्याङ्कन गर्न २० वटा सैन्य विमान परिचालन गरेको जनाएको छ।भूकम्पका प्रत्यक्षदर्शी चिहारू हाराले कार्यालय निकै तीव्र रूपमा हल्लिँदा भवन नै ढल्ने हो कि भन्ने डर लागेको बताएका छन्। एएफपीले प्रमाणित गरेको भिडियोमा सडकमा गुडिरहेका सवारीसाधन, ट्राफिक बत्ती र सडकबत्ती तीव्र रूपमा हल्लिएको तथा कतिपय स्थानमा सडक चर्किएको देखिएको छ। सुरक्षा क्यामेराको दृश्यमा ऐतिहासिक कुमामोतो महलको पर्खालका केही भाग भत्किएको पनि देखिएको छ।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापान विश्वकै सबैभन्दा बढी भूकम्प आउने मुलुकमध्ये एक हो। चार प्रमुख टेक्टोनिक प्लेटको सङ्गमस्थलमा रहेको यस देशमा हरेक वर्ष सयौं भूकम्प जाने गर्छन्। विश्वभर हुने करिब १८ प्रतिशत भूकम्प जापान वरपरकै क्षेत्रमा आउने वैज्ञानिकहरूको तथ्याङ्क छ। सन् २०११ मा आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा करिब १८ हजार ५०० जनाको ज्यान गएको थियो भने त्यसले फुकुसिमा आणविक विद्युत् केन्द्रमा गम्भीर दुर्घटना निम्त्याएको थियो।

प्रतिक्रिया दिनुहोस !