नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् । अन्य छ जना पौडी खेलेर बाँच्न सफल भएका छन् । सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुङ्गा आज बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो । बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

अवैध काठसहित छ जना पक्राउ अवैधरुपमा काठ चोरी पैठारी गरिरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)बाट छ जना पक्राउ परेका छन् । प्रहरी चौकी बासाबसहीको गस्ती टोलीले सरावल गाउँपालिका–२ देवीनगरस्थित पूर्व–पश्चिम राजमार्गबाट अवैधरुपमा काठ ओसारपसार गरिररहेको अवस्थामा आज बिहान काठसहित छ जनालाई पक्राउ गरेको हो । बासा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महेश रायमाझीको नेतृत्वमा खटिएको टोलीले देवीनगरस्थित उत्तरतर्फको वनबाट छ वटा साइकलमा ल्याउँदै गरेको सात थान अवैध सालको काठसहित ओसारपसारमा संलग्न छ जना र साइकलसमेत नियन्त्रणमा लिएरर बुझाएको डिभिजन वन कार्यालय परासीका सूचना अधिकारी प्रज्ञा पौडेलले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका मानिस, साइकल र काठ आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालय बर्दघाट सरावललाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !