गुल्मीको इस्मा गाउँपालिका- २ हस्तिचौरको रातचौरमा पहिरोले पुरिएर दुईजनाको ज्यान गएको छ । स्थानीय ३८ वर्षका प्रेमबहादुर कुमाल र पाँच वर्षका सफल कुमालको पहिरोले पुरेर ज्यान गएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

सोमबार राति सडकमा हिँडिरहेका दुवैजनालाई पहिरोले पुरेको थियो । उनीहरूलाई पहिरोले बगाएर छल्दीपना खोलानजिककाे कुलोमा ल्याएकाे थियाे ।

दुवैजनाकाे पहिरोले पुरेको अवस्थामा शव फेला पारिएको जिल्ला समन्वय समिति सदस्य राम मल्ल ठकुरीले जानकारी दिए । झन्डै तीन घन्टा लगाएर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीयले पहिरोमा पुरिएकाको शव निकालेका हुन् ।

दुवैजनाकाे  शव  पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइँदै गरेको उद्धारमा संलग्न सशस्त्र प्रहरी निरीक्षक कमलेशकुमार महताेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !