साइपाल गाउँपालिका– ६ का जगत् तामाङले लामो समयदेखि नेपाल चीनको व्यापारिक केन्द्र ताक्लाकोटमा व्यवसाय गर्दै आउनुभएको छ । पछिल्लो दुई वर्षयता ताक्लाकोटस्थित पसल बन्द गरेर उहाँ काठमाडाँैमा हुनुहुन्छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चीनमा सरकारले लकडाउन घोषणा ग¥यो । बन्दाबन्दीसँगै उहाँ पसल बन्द गरेर नेपाल फर्कनुभयो । उहाँ मात्र होइन हुम्लाका तासी लामा, दार्चुलाका योगेश बोहरालगायत करीब दुई सय नेपाली व्यापारी नेपाल फर्कनुभयो । उहाँहरु नेपाल फर्केको झण्डै दुई वर्ष पुग्नै लागेको छ । कोभिड–१९ को महामारी शुरु भएपछि प्रभावित नेपाल–चीनको व्यापारिक केन्द्र ताक्लाकोट बजार अझै खुल्न सकेको छैन । ताक्लाकोटमा मुगु, डोल्पा, हुम्ला, बझाङ र दार्चुलाका गरी करीब दुई सय नेपाली व्यवसायी छन् । लामो समयदेखि बजार बन्द हुँदा नेपाली व्यापारी मर्कामा परेका परेको तामाङ बताउनुहुन्छ । नेपालबाट निर्यात हुने र चीनबाट आयात भएका सामान ताक्लाकोटको गोदाममै थन्किएका छन् । महाव्याधिका कारण लामो समयदेखि सामान बिक्री गर्न नपाउँदा व्यवसायीलाई ठूलो क्षति भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “लकडाउन भएसँगै पसल बन्द गरेर नेपाल आइयो । अहिलेसम्म खोल्न पाएको छैन ।” पसल सञ्चालन गर्न त्यहाँको सरकारले नेपालीलाई ताक्लाकोटमा प्रवेश गर्न दिएको छैन । ताक्लाकोट जान नपाउँदा आफूहरु मर्कामा परेको उहाँ बताउनुहुन्छ । अहिले पनि समयसमयमा केरुङ, तातोपानी नाका खुल्ने र बन्द हुने गरेका छन् ।
नेपाल सरकारको कूटनीतिक प्रयास प्रभावकारी नभएकाले दुई देशबीचको व्यापार बढ्न सकेको छैन । सङ्घीय सरकारले नाका सञ्चालनका लागि कूटनीतिक पहल नगर्दा आफूहरु मर्कामा परेको ताक्लाकोटमै व्यवसाय गर्दै आउनुभएका दार्चुलाका बोहरा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चीनले अन्य मुलुकसँग व्यापार अघि बढाइरहेको छ तर नेपाली नाकालाई अझै पनि खुल्न दिएको छैन । ताक्लाकोटमा पनि चीनतर्फका बजार खुलेका छन् । नेपालतर्फको बजार मात्र बन्द छ । चिनियाँलाई नेपाली बजारमा जान र नेपालीलाई बजार खोल्न निषेध गरिएको छ । कोभिडकै सङ्क्रमण हुने डर हो भने अन्य मुलुकसँग व्यापार गर्दा सङ्क्रमण नहुने र नेपालसँग गर्दा सङ्क्रमण हुन्छ भन्ने हुँदैन । व्यापारिक नाका सञ्चालनका लागि नेपाल सरकारले यथाशीघ्र पहल गर्नुपर्ने उहाँहरुको माग छ । ताक्लाकोट बजारमा नेपालीले वर्षाँैंदेखि हाते होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगालो, छाला, र अन्य हस्तकलाका सामानको व्यापार गर्दै आएका छन् । यस्तै मह, घिउ, छुप्र्री, खुर्सानीलगायत दैनिक उपभोग्य सामान पनि चौंरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरिएको छ । ताक्लाकोटलगायत नजीकैका लुक्पु, खोचेर, लुकोट आदि ठाउँमा नेपाली सामानको राम्रो व्यापार हुने गरेको छ । हाते होजियारी र हस्तकलाका सामान नेपाली बजारभन्दा तीन गुणा महँगोमा बिक्री हुने गरेको छ । तिब्बतको विकट हिमाली क्षेत्रमा पर्ने शहर ताक्लाकोट भएर नै हिन्दू, बौद्ध र बोन्पो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर जानुपर्ने हुन्छ । भारत, नेपाल र चीनको भूभागसँग जोडिएको सो क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने अर्का व्यवसायी हुम्लाका लामा बताउनुहुन्छ ।