खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले दसैँ, तिहार र छठपर्वलाई लक्ष गरेर वितरण गरिरहेको छुट सुविधाको चामल सकिन लागेकोे छ । जिल्लाको सात गाउँपालिकालाई ७०० क्विन्टल र चन्दननाथ नगरपालिकालाई ३०० क्विन्टल चामलको कोटा तोकिएको थियो । दसैँका बेला यहाँका वासिन्दाले अत्यधिक मात्रामा चामल लिएकाले तिहार र छठ नआउँदै छुट सुविधाको खाद्यान्न सकिन थालेको हो । उक्त लिमिटेडले चाडपर्वका बेला एक हजार क्विन्टल चामलको कोटा छुट्याएको थियो । कम्पनीका प्रमुख तिलक सुनारले भन्नुभयो, “छुट सुविधाको चामल लिनेको भिड लाग्ने गरेको छ । यसरी चामल वितरण गर्न थालेकाले उपभोक्ताको भिड लाग्न थाल्यो । चामल पनि सकिन थालिसकेको छ ।” कम्पनीका अनुसार ९२२ दशमलव ६० क्विन्टल चामल बिक्री भइसकेको छ ।

अहिलेकै दरमा बिक्री भए तिहार, छठसम्म पुग्दा छुट सुविधाको खाद्यान्न अभाव हुने भएको छ । हाल छुट सुविधाको चामल ७८ क्विन्टल मात्रै बाँकी रहे पनि चामल लिनेको भिड रोकिएको छैन । थप एक हजार क्विन्टल चामल पठाउन माग गरिएको आइपुगे अभाव हुनेछैन । यहाँको आवश्यकताबमोजिम एक हजार क्विन्टल मागेका छौँ । केन्द्रले ५०० क्विन्टल चामल पठाउने जनाएको छ । छुट सुविधाको चामल जुम्लामा गत असोज एक गतेदेखि वितरण सुरु गरिएको थियो । हालसम्म एक हजार ५३७ जनाले चामल लिएको शाखा कार्यालयले जनाएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेपछि किसान भोकमरी हुने त्रासमा छन् । अब झनै छुट सुविधाको चामल किन्नेको घुइँचो लाग्ने देखिएको छ । कम्पनीका अनुसार जिल्लाको पातारासी गाउँपालिका र चन्ददनाथ नगरपालिकावासीले छुट सुविधाको चामल अत्यधिक लिएका छन् भने अन्य स्थानीयतहले निकै कम मात्रमा चामल लिएका छन् । उक्त शाखा कार्यालयबाट रु चार लाख ६३ हजार बराबरको छुट सुविधाको चामल बिक्री भएको जनाइएको छ । छुट सुविधाबाहेक साढे ७०० क्विन्टल मौज्दात रहेको र थप छ हजार क्विन्टल चामल आयात भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !