बागमती प्रदेश प्रमुख यादवप्रसाद शर्माले आगामी आर्थिक बर्ष २०७९/८० का लागि प्रदेश संसद सचिवालयमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री रहनुभएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि समाजवादलक्षित कार्यक्रम ल्याएको दाबी गरिएको छ ।
नीति तथा कार्यक्रमको सातौँ नम्बर बुँदामा नमूना वडा समाजवादी कार्यक्रम लागू गरिने उल्लेख छ । उक्त बुँदामा लेखिएको छ, ‘संविधानको मर्म, भावनाअनुरुप सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता, समृद्ध र सामाजिक न्यायको सुनिश्चितताका लागि समावेशी र सहभागीमूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्न वडास्तरबाट अभ्यास हुने गरी नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गरिनेछ ।’
जसअनुसार बागमती प्रदेशका ११९ वटा स्थानीय तहका छनौट भएका केही वडामा नमूनाका रुपमा समाजवादको परिभाषित मान्यतालाई कार्यान्वयनमा ल्याउने तयारी भएको बताइन्छ । यसका लागि बजेटको व्यवस्था भई आएमा आगामी आर्थिक वर्षमा समाजवादी गाउँ,टोलका रुपमा केही स्थानलाई नयाँ ढंगले विकास गर्न सकिने अनुमान गरिएको छ ।
नीति तथा कार्यक्रममा मकवानपुर,चितवन र धादिङलाई चेपाङ संरक्षित क्षेत्रको रुपमा विकास गरिने उल्लेख छ । नेपाल चेपाङ संघ, चेपाङसम्बद्ध विभिन्न संघसंस्था तथा जनप्रतिनिधिहरुले समेत चेपाङ संरक्षित क्षेत्रको माग गर्दै आइरहेका थिए । संसद सचिवालमा प्रदेश प्रमुख शर्माले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको ४५ औँ बुँदामा लोपोन्मुख र सीमान्त जातजातिका लागि विशेष कार्यक्रम ल्याइने उल्लेख गर्दै तीन वटा जिल्लालाई चेपाङ संरक्षित क्षेत्रको रुपमा विकास गरिने भनिएको हो ।
‘हामीले लामो समयदेखि पहलको परिणाम प्राप्त गरेका छौँ’, प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले जनआस्थासँग भने, ‘‘अब चेपाङ संरक्षित क्षेत्रको कार्यविधि कस्तो बन्छ भन्ने कुरामा पनि भर पर्छ ।’ संरक्षित क्षेत्र घोषित भएपछि शिक्षा, स्वास्थ्य,आवास, खाद्यलगायतका आधारभूत आवश्यकताको परिपूर्ति हुने गरी बजेटको व्यवस्था हुने र चेपाङ समुदायले समेत सरकारको अनुभूति गर्ने वातावरण सिर्जना हुने राज्यमन्त्री चेपाङले बताए ।
चेपाङ संरक्षित क्षेत्र घोषणाको संविधान सभा सदस्य गोविन्दराम चेपाङद्वारासमेत स्वागत गरिएको छ ।