
बुधबार संसदको राज्यका निर्देशक सिद्धान्त, नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद भीम रावलले आफूले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन्।
यातायात विभागका महानिर्देशक नवराज घिमिरेले अहिलेलाई सरकारी गाडीलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य भएको बताएपछि रावलले
‘म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ। बरू सरकारले एक वर्ष जेल हाल्ने भनेको छ, म एक वर्ष जेल जान तयार छु,’ भनेका छन् ।
‘२०७८ फागुनपछि व्यक्तिबाट नयाँ गाडी किन्दा इम्बोस्ड नम्बर राख भनेको हो। साउनदेखि नवीकरण गर्ने बेलामा हुन्छ,’ घिमिरेले भने,‘त्यो नम्बर कुदेको हुन्छ। त्यही भएर खुइँलिदैन।’
इम्बोस्ड नम्बर प्लेटबारेको छलफलमा यातायात मन्त्री रेनुकुमारी यादव भने अनुपस्थित भएकी छन्।
सभापति निरादेवी जैरूका अनुसार मन्त्रीले भने अनुसार आज बैठक तय गरिएको थियो। मन्त्री यादव बिनाजानकारी अनुपस्थित भएकी हुन्। मन्त्रीको अनुपस्थितिबारे समिति सदस्यहरूले आशंका र प्रश्न गरेका छन्।