ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले काठमाडौंका विभिन्न स्थानमा हैजा फैलिएको बताए । उनले काठमाडौंका १० स्थानमा अहिलेसम्म हैजाका बिरामी देखा परेको र काठमाडौका भित्री शहरमा यो रोग फैलिसकेको दाबी गरे । उनका अनुसार बागबजार, डिल्लीबजार, कपन, बालाजु, थानकोट, कोटेश्वर, नैकाप, बल्खु, कलंकी र सानेपामा बस्ने ब्यक्तिमा हैजा देखिएको छ । यसबाट यी क्षेत्रमा हैजाको संक्रमण फैलिसकेको उनले बताएका छन् ।
हैजाका बिरामीको संख्या १४ पुगेको छ । मंगलबार साँझ दुई जना बिरामी थपिएसँगै हैजाका बिरामीको संख्या १४ पुगेको छ । हैजा लागेर अस्पताल पुगेका १२ जना डिस्चार्ज भइसकेका छन् । २ जनाको टेकू अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि अवस्था सामान्य नै रहेको दासले बताए ।
बिरामीहरुको संकलित नमुना परीक्षण गर्दा हैजा जीवाणु पत्ता लागेको थियो । बिस्तारै अन्य ठाउँका बिरामीमा पनि देखिएको हो । गर्मी तथा वर्षायाममा विशेष गरी झाडा पखालाका, हैजा तथा पानी जन्य रोगहरु फैलिने संभावना बढी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताए ।
पहिलो पटक बागबजारका एकै परिवारका दुई जनामा हैजा जीवाणु पत्ता लागेको थियो । असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरु झाडा पखाला लागेर अस्पताल भर्ना भएका थिए । यसबाट सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्रै प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।