
३० लाख रुपैयाँ खर्चेर पाँच वर्षअघि निर्माण सम्पन्न भएको तरकारी संकलन केन्द्र सञ्चालनमा नल्याएपछि केन्द्रका संरचनाहरु अलपत्र छन् ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५र७६ मा विनियोजन गरेको रकमबाट केन्द्र निर्माण गरिएको हो । प्रदेशका तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उक्त योजनामा बजेट विनियोजन गरेका थिए । विनियोजित ३० लाख रकमबाट पाँच वटा जस्ताले छाएको सामान्य ट्रष्ट बनाइएको छ । बगुवा स्वास्थ्य चौकीसँगैको करिब ५ रोपनी जग्गामा निर्माण गरिएको उक्त संरचनामा हाट बजार सञ्चालन गर्ने उदेश्य राखिएको थियो । तर बनेदेखि नै केन्द्र सञ्चालनमा नआएको स्थानीय बताउँछन् ।
‘संरचना बनेको यतिका समय भयो तर आजसम्म यहाँ न हाट बजार लाग्यो न तरकारी संकलनको काम भएको छ’ स्थानीय ऋषि लामिछानेले भने । तरकारी संकलन केन्द्र निर्माण हुनु सकारात्मक भएपनि हालसम्म सञ्चालनमा नआउनु दुःखद् भएको उनले बताए ।
संरचना बनाएर रकम फरफारक गरेपनि हाट बजार सञ्चालनमा नआएको भन्दै स्थानीय मनबहादुर रिमालले गुनासो गरे । स्थानीयका अनुसार सो क्षेत्रमा कमै मात्र व्यावसायिक तरकारी खेती हुने गर्छ । सिख्रे, रिठ्ठेपानी लगायतका स्थानमा हुने सामान्य खेती गर्न पनि स्थानीयले छाडिसकेका छन् । आवश्यकताको पहिचान नगरी हाट बजारका लागि बजेट विनियोजन गर्दा सदुपयोग नभएको भन्दै आलोचना समेत हुन थालेको छ ।