काठमाडौं उपत्यकामा विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको ४०० केभीको तामाकोसी–काठमाडौं प्रसारणलाइन निर्माणमा स्थानीय सरकारबाट फेरि समस्या आएको छ ।  नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारणलाइन आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ ।

आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारणलाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरुका सहायक खोलानालाको जलविद्युत आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौ प्रसारणलाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो ।

“आर्थिक तथा प्राविधिक दुवै रूपमा यसको रुट परिवर्तन गर्न असम्भव छ,” आयोजना प्रमुख नवराज ओझाले भने, “यसको रुट परिवर्तन गर्न थालेमा रिडिजाइनका साथै समयमै आयोजना पनि बनाउन असम्भव छ ।” अहिलेसम्म हामीले सकेसम्म बस्ती छलेर लगेको र जग्गा प्राप्तिको सूचना निकाल्ने प्रकृयामा आयोजना अघि बढेको उनी बताउँछन् । जलविद्युत् प्रवद्र्धकहरूका अनुसार समयमै तामाकोसी–काठमाडौं प्रसारणलाइन नबनेमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १०२ मेगावाटको मध्यभोटेकोसीका साथै निजी क्षेत्रद्वारा उत्पादित गरी करिब ८ सय मेगावाट विद्युत् खेर जाने अवस्था सिर्जना हुन सक्ने देखिएको छ । खिम्तीदेखि लप्सीफेदीसम्मको ९० किलोमिटर लामो  प्रसारण आयोजनाको खिम्ती–बाह्रविसेसम्म र बाह्रविसेदेखि लप्सीफेदीसम्म दुई खण्डमा बन्दैछ भने बाह्रविसेमा सबस्टेसन निर्माण हुन लागेको छ । बाह्रविसेदेखि लप्सीफेदीसम्म ४६ किलोमिटर ठेक्का निर्माण भइरहे पनि खिम्ती–बाह्रविसेसम्मको लाइनको ठेकेदारसँग ठेक्का तोडिएपछि नयाँ प्रक्रिया अघि बढेको छ । बाह्रविसेदेखि लप्सीफेदीसम्मको १२२ टावरमध्ये दुई वटा निर्माण भइसकेको छ भने २३ वटाको जग्गा प्राप्तिको प्रक्रियामा छ । आयोजना निर्माण सम्पन्न भएपछि यस प्रसारणलाइनबाट २ हजार ५ सय मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !