निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।

उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !