आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गरेका हुन् । खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।

 

नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो ।

प्रधानमन्त्रीले भने ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईँहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

नेपालले एक महिनाको अन्तरमा अदित्तीय प्रदर्शन गर्दै १२ मध्ये ११ खेल जितेको थियो । जसमा घरेलु मैदानमा भएको पछिल्लो दुई शृंखलाको चारै खेल जित्दै क्लिन स्वीप गरेको थियो भने यूएईमा भएको शृंखलाका चारमध्ये तीन खेल जितेको थियो ।

लिग टु मा ३६ खेलबाट ४० अंक जोड्दै नामिबियालाई पछि पार्दै तेस्रो भएको नेपालले अब जिम्बावेमा आगामी जुन जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेछ । १० टिमले खेल्ने क्वालिफायरबाट शीर्ष दुई टोलीले भारतमा अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस !