नेपाल इन्जिनियरिङ परिषदका उपाध्यक्ष डा. विकास अधिकारीले यस वर्ष असार, मंसिर र चैत महिनामा लाइसेन्स परीक्षा वर्षमा तीन पटक पटक लिने गरी तयारी गरिरहेको जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘एउटा परीक्षामा फेल भएकालाई फेरि अर्को परीक्षामा सहभागी हुन लामो समय कुर्न नपरोस् भनेर २०८० सालमा तीनपटक परीक्षा लिने तयारी गरिरहेका छौं । हामी छिट्टै वार्षिक क्यालेन्डर नै सार्वजनिक गर्छौं ।’ आवश्यक परे लाइसेन्स परीक्षा वर्षमा चार पटक पनि लिन सकिने गरी तयारी भइरहेको उनको भनाइ छ ।
डा. अधिकारीका अनुसार वार्षिक क्यालेन्डरमा कुन विधाको इन्जिनियरको लाइसेन्स परीक्षा फर्म कहिले खुल्ने र कहिले परीक्षा हुने भनेर स्पष्ट उल्लेख हुने छ । उल्लिखित त्यही मितिमै परीक्षा सन्चालन गर्ने गरी क्यालेन्डर कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।
इन्जिनियर उत्तीर्ण गरेकाहरुले इन्जियरिङ व्यवसायका लागि परिषदमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।
२०७८ चैत दोस्रो साता परिषदले पहिलो पटक इन्जिनियरको लाइसेन्स परीक्षा सन्चालन गरेको थियो । लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरे पनि १ हजार ९८१ जना मात्र परीक्षामा सहभागी भएका थिए । तीमध्ये ५६५ जनामात्र पास भएका थिए भने ११ जनाको परीक्षा रद्द गरिएको थियो ।