
संघीय संसदको बजेट अधिवेशन आज (वैशाख २४ गते) बाट सुरु हुँदैछ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात बजेट अधिवेशन आजदेखि सुरु हुन लागेको हो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेका थिए। राष्ट्रपतिकै आह्वानपछि सदनको अधिवेशन सुरु हुन लागेको हो।
बजेट अधिवेशन आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई संघीय संसद् सचिवालयले यसअघि नै सूचनामार्फत अनुरोध गरिसकेको छ।
बजेट अधिवेशनमा मुख्यगरी सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ।
अधिवेशन प्रारम्भसँगै प्रि–बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।