सूर्यविनायक नगरपालिकाले आफ्नो सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ लाई उद्धृत गरेको छ । त्यसपछि नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्यांकन समिति गठन गर्नको लागि पनि आवेदन मागेर डा. मनप्रसाद वाग्लेको संयोजकत्वमा विज्ञ समूह बनाएर समिति गठन गरेको थियो ।
नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमल्सिनाका अनुसार उक्त समितिले आवेदक शिक्षकहरुको प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ता लिएको थियो । उक्त प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ताको आधारमा नगरपालिकाले २८ विद्यालयका प्रधानाध्यापक छनौट गरेको थियो । १८ वटा आधारभूत विद्यालय र १० वटा माध्यमिक विद्यालयको प्रधानाध्यापक छनौट गरेको थियो ।
उपप्रमुख तिमल्सिनाका अनुसार ६ जना विज्ञहरुको समितिले प्रधानाध्यापकको अन्तर्वार्ता र अंक दिएको आधारमा नतिजा निकालिएको हो । ‘समितिमा कोही जनप्रतिनिधि हुँदैनन्, आग्रह पूर्वाग्रह केही हुँदैन प्रधानाध्यापकको लागि आवेदन दिने शिक्षकहरुको प्राप्तांकको आधारमा छनोट हुने हो’, उपप्रमुख भट्टराईले भनिन् ।
शैक्षिक योग्यता, शिक्षण अनुभव, शिक्षकले अध्यापन गराउने सम्बन्धित विषयको पछिल्लो तीन वर्षको नतिजा सिट र विद्यालयको विकास प्रस्तावको आधारमा प्राप्तांक तय हुने कार्यविधि रहेको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।
प्राप्तांकको आधारमा सार्वजनिक हुने नतिजामा प्रथम, दोस्रो र तेस्रो हुनेले सम्बन्धित तहको विद्यालय छनौट गरेर प्रधानाध्यापक हुन पाउनेछ । कार्यविधि अनुसार विद्यालयको विकास प्रस्तावमा ५ वर्ष प्रधानाध्यापक हुँदा विद्यालयमा के–के गर्न सकिन्छ भन्ने योजना प्रधानाध्यापक छनौट समितिलाई बुझाउनुपर्ने हुन्छ ।
सूर्यविनायक नगरपालिकाले अभ्यास गरिसकेको उक्त छनौट विधि काठमाडौं उपत्यकाका अन्य स्थानीय तहमा लागु गर्ने काठमाडौं मेयर्स फोरमले निर्णय गरेको छ । ललितपुर महानगरपालिकामा बसेको मेयर्स फोरमको बैठकले अन्य पालिकाहरुमा पनि सूर्यविनायक मोडल लागु गर्ने निर्णय ७ जेठमा गरेको फोरमका अध्यक्ष रहेका ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।