छठ पर्वको लागि गुहेश्वरी गौरीघाट बागमती नदी किनारलाई सिंगार्ने, सरसफाइ गर्ने, टेन्ट लगाउने काम भइरहेको छ। यस्तै काठमाडौं उपत्यकाको विभिन्न स्थान कमलपोखरी, नागपोखरी, मनोहरा, बागमती किनार कुपन्डोल लगायत स्थानहरुमा सरसफाइ गर्ने, सिंगार्ने र टेन्ट लगाउने काम भइरहेको हो। यसवर्षको अस्ताउँदो सूर्यको अर्घ दिने छठ पूजाको मुख्य दिन आइतबार रहेको छ। यो पर्व विशेष गरी तराई क्षेत्रमा मनाइने भए पनि उपत्यकामासमेत आन्तरिक बसाइँसराइसँगै भव्य रुपले सबै नेपालीहरुले मनाउने गरेका छन्। भक्तजनहरुले घरघरै ठेकुवा, भुसुवा र पुरीगायत प्रसाद तयार गर्ने गर्दछन्। अस्ताउँदो सूर्यलाई जलाशययुक्त स्थानमा अर्घ चढाएर यो पर्वको सुरुवात गरिन्छ। त्यस रातभर पर्वको विधि एवं परम्परागत लोकगीत गाउँदै पूजा आरधना गरिन्छ। बिहानको उदाउँदो सूर्यलाई महिमाका कथा वाचन गर्दै अर्घ चढाएर छठको समापन गरिन्छ। त्यसपश्चात ब्रतालुले प्रसाद खाएर उपवास तोडेर प्रसाद बाँड्दै घर फर्किन्छन्।