सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत पाँचौँ दिन आज जनकपुरधाममा परम्परागत जानकीको मटकोर विधि धुमधामका साथ मनाइँदैछ। जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत विधिअनुसार मटकोर आयोजना गरिने जानकारी जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले दिएका छन्।
बाजागाजा सहितको शोभायात्रा गंगासागरसम्म पुगेपछि मिथिली परम्परा अनुसार मटकोर विधि सम्पन्न गरिन्छ। सीताको प्रतीक मानिने बालिकामार्फत माटो संकलन तथा अन्य विधि पूरा गर्ने चलन रहिआएका कारण आजको दिन विशेष धार्मिक महत्वका साथ मनाइन्छ। सयौं भक्तजनको उपस्थितिमा मटकोर गीत तथा भजनसहित वातावरण भक्तिमय बनेको छ।
मटकोरपछि भोलि मंगलबार भगवान् राम र जानकीको डोला फेर गरी स्वयंवर तथा विवाहको मुख्य कार्यक्रम सम्पन्न गरिनेछ। मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सव अन्तर्गत क्रमशः—पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ र चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेका छन्। आज पाँचौँ दिन मटकोर तथा भोलि विवाहको मुख्य कार्यक्रम रहनेछ। जन्ती आएका साधु–सन्तहरूको बिदाइ ‘राम कलेवा’ गरी बुधबार महोत्सव विधिवत रूपमा सम्पन्न हुनेछ।









