वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन मुख्यतः पेट्रोलियम पदार्थ तथा सवारीसाधन र तिनका पार्टपुर्जाको आयातमा निर्भर रहेको देखिएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले कुल १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यसमध्ये पेट्रोलियम पदार्थको आयातबाट मात्र ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व उठेको छ, जुन कुल राजस्वको ठूलो हिस्सा हो।

पेट्रोलियमपछि दोस्रो धेरै राजस्व यातायातका साधन तथा तिनका पार्टपुर्जाको आयातबाट संकलन भएको छ, जहाँबाट १३ अर्ब ९८ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। यसका अतिरिक्त, चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानको आयातबाट ६ अर्ब ८३ करोड रुपैयाँ, कपडाको आयातबाट ५ अर्ब २६ करोड रुपैयाँ र इलेक्ट्रिक मेसिनरी, उपकरण तथा तिनका पार्टपुर्जाबाट ४ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै, मदिराजन्य पेय पदार्थको आयातबाट १ अर्ब ८३ करोड रुपैयाँ र शृङ्गारका सामानबाट १ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको छ।

प्रतिक्रिया दिनुहोस !