नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको तयारीअन्तर्गत क्रियाशील सदस्यहरूको अद्यावधिक प्रक्रिया सम्पन्न गरेको छ। पार्टीले वैशाख १ गतेदेखि सुरु गरेको अभियान जेठ २८ गते मध्यरातमा सम्पन्न भएको जनाएको छ।

कांग्रेसका प्रवक्ता देवराज चालीसेका अनुसार गत पुससम्म नवीकरण तथा नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरूको विवरण सङ्कलन गरी अद्यावधिक गरिएको हो। अद्यावधिकका लागि देशभर ७ लाख ८२ हजार २०९ जना क्रियाशील सदस्य योग्य रहेकोमा हालसम्म ५ लाख ३८ हजार ६२२ जनाले वडास्तरबाट आफ्नो विवरण अद्यावधिक गराई एनसी आईडी प्राप्त गरिसकेका छन्।त्यस्तै, १ लाख ४९ हजार ३०९ जनाले सदस्यता अद्यावधिकका लागि आवेदन दिइसके पनि उनीहरूले अझै एनसी आईडी प्राप्त गर्न बाँकी रहेको जनाइएको छ। कांग्रेसले एनसी आईडी प्राप्त नगरेका सदस्यहरू आगामी असोजमा हुने पन्ध्रौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुन नपाउने स्पष्ट गरेको छ।प्रवक्ता चालीसेका अनुसार केही हिमाली जिल्लाका सदस्य तथा विदेशस्थित जनसम्पर्क समिति अन्तर्गत रहेका क्रियाशील सदस्यहरूको अद्यावधिक कार्यलाई थप व्यवस्थित र सहजीकरण गरिनेछ। भौगोलिक तथा प्राविधिक कारणले समयमै प्रक्रिया पूरा गर्न नसकेका क्षेत्रहरूको विवरण समेत समेट्न तथ्याङ्क फिल्टरेसनको काम भइरहेको उनले बताए। यसैबीच, नयाँ क्रियाशील सदस्यता लिन इच्छुक व्यक्तिहरूका लागि कांग्रेसले अनलाइन आवेदन प्रणाली खुला गरेको छ। अब नयाँ सदस्यताका लागि अनलाइनमार्फत निरन्तर आवेदन दिन सकिने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

कांग्रेसले क्रियाशील सदस्यहरूको डिजिटल अभिलेखीकरण, एनसी आईडी प्रणाली र अद्यावधिक अभियानलाई पन्ध्रौँ महाधिवेशनलाई व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस !