वर्षौंदेखि तनावपूर्ण रहँदै आएको अमेरिका र इरानबीचको सम्बन्ध सुधारतर्फ उन्मुख भएको संकेत देखिएको छ। विभिन्न अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार दुवै देश महत्वपूर्ण सहमतिनजिक पुगेका छन्, जसले मध्यपूर्वको भू–राजनीतिक अवस्था तथा विश्व ऊर्जा बजारमा उल्लेखनीय प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।
प्रारम्भिक विवरणअनुसार इरानले होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमन सहज बनाउनेछ भने त्यसको बदलामा अमेरिकाले इरानमाथि लागू गरिएका केही आर्थिक तथा व्यापारिक प्रतिबन्धहरूमा लचकता अपनाउने तयारी गरेको बताइएको छ।विश्व ऊर्जा व्यापारको मेरुदण्ड मानिने होर्मुज जलडमरूमध्यबाट खाडी क्षेत्रका अधिकांश कच्चा तेल तथा प्राकृतिक ग्यास अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने भएकाले यसको सञ्चालनले विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। पछिल्लो समय क्षेत्रीय तनाव बढेसँगै यो मार्ग सुरक्षा चुनौतीको केन्द्र बन्दै आएको थियो।अमेरिकी अधिकारीहरूका अनुसार सम्झौताको कार्यान्वयन चरणबद्ध रूपमा अघि बढाइनेछ। प्रारम्भिक चरणमा समुद्री मार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने र केही प्रतिबन्धहरू खुकुलो बनाइनेछ। त्यसपछि समुद्री क्षेत्रमा राखिएका बारूदी सुरुङहरू हटाउन विशेष अभियान सञ्चालन गरिने योजना रहेको बताइएको छ।दुवै पक्षले समुद्री सुरक्षालाई प्राथमिकतामा राख्दै व्यापारिक जहाजहरूको निर्बाध आवागमन सुनिश्चित गर्ने तथा भविष्यमा उत्पन्न हुन सक्ने सुरक्षा जोखिमहरू न्यूनीकरण गर्ने विषयमा पनि सहमति जुटाउन लागेका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता अन्तिम चरणमा पुगेको संकेत दिँदै छिट्टै औपचारिक घोषणा हुन सक्ने बताएका छन्। उनले हस्ताक्षर प्रक्रिया नजिक पुगेको उल्लेख गरेका छन्। त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रयास निर्णायक मोडमा पुगेको बताउँदै सम्झौता आगामी केही घण्टा वा एक दिनभित्र टुंगो लाग्न सक्ने सम्भावना व्यक्त गरेका छन्।सम्झौतामा डिजिटल वा इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गरिने तयारी भइरहेको बताइएको छ। हस्ताक्षरपछि प्राविधिक टोलीहरूबीच बैठक गरी कार्यान्वयनको विस्तृत खाका तय गरिनेछ।
यो सहमति सफल भएमा अमेरिका–इरान सम्बन्धमा नयाँ अध्याय सुरु हुनुका साथै मध्यपूर्वमा स्थायित्व र विश्व ऊर्जा बजारमा विश्वास पुनः स्थापित हुने अपेक्षा गरिएको छ।










