आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक आगमन भएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी)का अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन्, जुन कुल आगमनको करिब २५.७६ प्रतिशत हो। त्यसपछि अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन्। बंगलादेश, बेलायत, अष्ट्रेलिया, श्रीलंका, भुटान, म्यानमार, जर्मनी, थाइल्यान्ड, जापान र मलेसिया पनि प्रमुख स्रोत बजारका रूपमा रहेका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढी पर्यटक कात्तिक महिनामा १ लाख २४ हजार ८२९ जना आएका थिए। पर्यटन बोर्डले भारत र चीनलगायत प्रमुख स्रोत बजारमा प्रवर्द्धनात्मक कार्यक्रम विस्तार, हवाई पहुँचको वृद्धि तथा निजी क्षेत्रसँगको सहकार्यका कारण पर्यटक आगमनमा सकारात्मक वृद्धि भएको जनाएको छ। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको उल्लेख गर्दै चीन, अमेरिका, अष्ट्रेलिया र बंगलादेशजस्ता उच्च सम्भावना भएका बजारमा थप प्रभावकारी प्रवर्द्धन गरिने बताएका छन्। साथै, सरकारले घोषणा गरेको आरोग्य पर्यटन वर्ष २०२७ ले चालु आर्थिक वर्षमा पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !