सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले शुक्रबार बिहान सूचना जारी गर्दै बिहान ८ बजेदेखि कर्फ्यु लागू गरिएको जनाएको हो।
प्रशासनका अनुसार कर्फ्यु राजविराज नगरपालिकाको पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी थलही, उत्तरमा रूपनी रोडअन्तर्गत बसबिट्टी र दक्षिणमा कोशी पश्चिमी मूल नहरसम्मको क्षेत्रमा लागू हुनेछ। जिल्ला प्रशासन कार्यालयले पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन तथा अवाञ्छित गतिविधिका कारण सार्वजनिक शान्ति र सुरक्षामा असर पर्न सक्ने अवस्था देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको कर्फ्यु आदेश अर्को सूचना प्रकाशित नभएसम्म लागू रहने प्रशासनले जनाएको छ।










