ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग शहरी पूर्वाधार, स्वच्छ ऊर्जा र वातावरणीय व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रस्ताव गरेका छन्।

बिहीबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाकी कामु मेयर सुनिता डंगोलसँग भएको छलफलमा मन्त्री श्रेष्ठले भूमिगत पानी पुनर्भरण (ग्राउन्ड वाटर रिचार्ज) प्रणालीको विकास, सौर्य सडक बत्तीको विस्तार तथा व्यवस्थापन, सम्पदा क्षेत्रमा सम्पदा–मैत्री विद्युतीकरण र फोहोरबाट ऊर्जा उत्पादन गर्ने ‘वेस्ट टु इनर्जी’ परियोजनालाई संयुक्त रूपमा अघि बढाउने प्रस्ताव राखेका हुन्। मन्त्री श्रेष्ठले यी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न ऊर्जा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच संस्थागत समन्वय आवश्यक रहेको उल्लेख गर्दै संयुक्त प्रयासबाट शहरी सेवा प्रवाहलाई थप दिगो, प्रभावकारी र आधुनिक बनाउन सकिने बताए।छलफलका क्रममा कामु मेयर डंगोलले मन्त्रालयको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै महानगरपालिकाले आवश्यक आन्तरिक तयारीपछि विस्तृत कार्ययोजनासहित प्रस्ताव पेश गर्ने जानकारी दिइन्।

दुवै पक्षबीच काठमाडौंको दिगो शहरी विकास, स्वच्छ ऊर्जा प्रवर्द्धन, वातावरण संरक्षण तथा आधुनिक पूर्वाधार निर्माणका क्षेत्रमा संस्थागत सहकार्यलाई थप मजबुत बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !